नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानुन व्यवसायीलाई होच्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति बारका चारजना पूर्वअध्यक्षले खेद व्यक्त गरेको छ।
बारका पूर्वअध्यक्ष समेत रहेका चार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई समस्त कानुनव्यवसायी माथि सत्तापक्षबाट गरिएको निर्लज्ज प्रहार भएको बताएका हुन्।
उनीहरुलाई सो अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्न माग गरेका छन्।सो अभिव्यक्तिविरुद्ध उभिन बार एसोसियसन र देशभरका कानुन व्यवसायीलाई अनुरोध गरेका छन्।
‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरे वापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्तीद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै संविधान सभाद्वारा जारी भएको संविधानको रक्षा गरेर मुलुकलाई संवैधानिक मार्गमा पुनः अवतरण गराउने कार्यमा लागि पर्न समेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं।’