प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे ओलीले केही व्यक्तिहरुले अदालतलाई धम्काउने काम गरेको भन्दै अदालतलाई नधम्क्याउन चेतावनी दिए ।
उनले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिइने तर्क गरे । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।
आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको उनकाे तर्क थियाे ।ओलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरेको जनसभालाई सामान्य भएको टिप्पणी गर्दै साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न नमिल्ने गरे ।
ओलीले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने र त्यो आजको आमसभा भन्दा ठूलो हुने दाबी गरे । अधिकांश समय प्रचण्ड–नेपालको बिरोधमा उत्रिएका ओलीले मुलुकलाई अन्धकारतर्फ ढकेल्ने प्रयास सफल हुन नदिने बताए ।