नेपाल सरकारका पूर्वमुख्यसचिवसहित १५ नागरिक अगुवाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा दीर्घकालीन असर पर्ने कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
चुनाव घोषणापछि कामचलाउ हैसियतमा रहेको सरकारले दीर्घकालीन सरोकारका मुद्दामा भारतसँग समझदारी गर्न नहुने भन्दै उनीहरूले बुधबार संयुक्त बिज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएका हुन्।
बृहत्तर राष्ट्रिय सहमतिबिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता कामकारबाही नगर्नका लागि पनि उनीहरुले अनुरोध गरेका छन्।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नेपाल राष्ट्र ब्यांकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिवद्धय लिलामणि पौड्याल र डा. सोमलाल सुवेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वसचिव शारदाप्रसाद त्रिताल, युवराज पाण्डे, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, लेखक निनु चापागाई, इन्दिार दली, कृष्ण ज्ञवाली, डा. ऋषि अधिकारी, डा. खगेन्द्र प्रसाई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य लगायत छन्।
परराष्ट्र मन्त्री ज्ञवाली नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन माघ १ देखि भारत जादैछन्।