नेकपाको प्रचण्ड र माधवकुमार नेपाल पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको सो पक्षको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटाएको हो । बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ ।
बैठकले पहिलो चरणको आन्दोलनको समिक्षा गरिएको गर्दै दोश्रो चरणको आन्दोलनलाई सफल बनाउन सिंगो पार्टी पङ्ती परिचालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। संघर्षलाई संसद बिघटनलाई असफल पारेर प्रतिनिधिसभा सञ्चालन नभएसम्म जारी राख्ने निर्णय पनि गरिएको उनले बताए ।
त्यस्तै मूलत संयुक्त आन्दोलनका लागि प्रयास जारी राख्ने, प्रदेश देखि वडा सम्म संघर्ष समिति बनाउने निर्णय गरिएको छ ।
संगठनलाई परिचालन र एकीकरणका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक सुझाव दिन अध्यक्ष माधव नेपालको नेतृत्वमा गृहकार्य टोली निर्माण गरिएको र टोलीलाई सात दिनभित्र आवश्यक सुझाव दिन भनिएको प्रवक्ता श्रेष्ठले बताए ।
उनले एकीकृत पार्टीको स्वरुप कायमै रहेको भन्दै यसलाई कमजोर पार्ने प्रवृतिलाई परास्त गर्न दृढतापूर्वक उभिने तर्क गरे ।प्रवक्ता श्रेष्ठले पार्टीलाई बिधि र पद्धतीमार्फत सञ्चालन गर्नका लागि बहस र अन्तसंघर्ष गरिएको भन्दै त्यसबाट बिचलित भएर संविधानमाथि नै आक्रमण गरिएको आरोप लगाए ।