नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार भएको दुर्व्यवहार तथा पक्राउको घटनाप्रति आपत्ति जनाउँदै कांग्रेस नेता रोमी गौचन थकालीले सो घटना मौलिक हकमाथिको हमला भएको बताएका छन्।
तनहुँको दमौलमा नवनिर्मित पुलको उट्घाटन गर्ने क्रममा बरिष्ठ नेता पौडेललगायतका कांग्रेस नेताहरुमाथि सत्तारुढ नेकपाका कार्यकर्ताले गरेको व्यबहार कुनै पनि अर्थमा नागरिकले सहन गर्न सक्ने विषय नभएको उल्लेख गरेका छन्। लोकतान्त्रिक सविधान भएको समाजमा त झनै यस्ता घृणित क्रियाकलापको परिकल्पना नै गर्न नसकिने उनको भनाई छ।
सविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकमाथि बर्तमान सरकार गठन भएको सुरूवातदेखि नै एक पछि अर्कों हमला गर्दै गएको उनले उल्लेख गरेका छन्। नागरिक सर्वोच्चता, बहुदलीय लोकतन्त्रको स्थापनाको लागि सात दशक पार गरेको कांग्रेसलाई कम आंकलन गर्ने गल्ती नगर्न समेत उनले स्पष्ट पारेका छन्।