कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले संक्रमण न्युन भएका स्थानमा यसअघि बन्द भएका सेवाहरु सूचारु गर्न प्रस्ताव गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको सिसिएमसी बैठकले कोरोनालाई मध्यनजर गर्दै यसअघि बन्द गरिएका सेवाहरु कोरोना संक्रमण न्युन हुदै गएको स्थानमा खुल्ला गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो।
बैठकले कोरोना जाोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरी परीक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। त्यस्तै बैठकले अन्तर्राष्ट्रिय उडानहरु नियमित भएका अलावा अन्य देशहरुबाट पनि आवश्यकता अनुसार थप उडान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए।
बैठकले केही सेवा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भए सेवा प्रवाह नै बन्द गरिने गरेकोमा अव संक्रमित कर्मचारीलाई आइसोलेट गरेर बाँकी कर्मचारीबाट सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय भएको उनले बताए। त्यस्तै काठमाडौं उपत्यकामा एकीकृत एम्वुलेन्स सेवाको पार्किङको समस्या देखिएकाले त्यसको व्यवस्थापन सम्बन्धित नगरले नै गर्ने गरी निर्णय गरिएको गुरागाईले जानकारी दिए।
बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो। बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना नरहेको गुरागाईले जानकारी दिए।
त्यस्तै बैठकमा नेपालभर कोरोना संक्रमणको अवस्था तथा रोकथाम र नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल भएको थियो।