स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्पष्ट पारे ।
मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णयहरु नागरिकको संवैधानिक हक तथा अदालतको फैसला विपरित नभएको बताएका हुन्।
मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे ।
गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पुहँच सहज बनाउन जनताको चाहना र माग अनुसार नै निजी क्षेत्रसँगको साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शशूल्क सेवा उपलब्ध गराउन आवश्यक भएको उनले बताए । मन्त्री ढकालले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने नीतिका कुनै परिवर्तन नभएको पनि जानकारी दिए ।
उहाले कोरोना संक्रमणको महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा दशैं तिहार लगायतका चाडपर्वहरु मनाउदा विशेष सावधानी अपनाएर मनाउनुपर्ने पनि बताए। मन्त्री ढकालले कोरोना विरुद्धको महामारीमा अग्रपंथिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति सम्मान तथा बिरामीको स्वास्थ्य लाभको कामना समेत गरे।