संसदीय सुनुवाई समितिमा अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी परेका छन् । रोल.....
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाई समितिले जानकारी दिएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाई समितिले सोमबार खोलेको हो ।
१० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको र छलफल गरेर थप स्पष्ट हुने उनले बताए।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।