२०७४ मा सम्पन्न प्रतिनिधिसभाको चुनाबमा रुपन्देहीबाट निर्बाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव अर्थमन्त्री बिष्णु पौडेलले मतदाताहरुसँग भोट माग्दा एउटै कुरा भनेका थिए, तपाई हाम्रो आँगनको राजधानी भोलिका दिनमा स्थायी राजधानी हुनेछ। एमाले र माओवादीबीचको एकीकरणपछि बनेको नेकपाको शक्तिशाली महासचिव भएका पौडेलले चुनाबका बेला गरेको बाचा तीन बर्ष नपुग्दै बिर्सिए।
२० असोजमा बसेको प्रदेश सभा बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बुटवलबाट दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी कायम गर्ने निर्णय गरेपछि उनका मतदाता रुष्टमात्र भएनन्, करिब दुई हजार नेता कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। सत्तारुढ नेकपा, मुख्य बिपक्षी कांग्रेस लगायतका दलका नेता तथा कार्यकर्ता सडकमा उत्रिएर बिरोध प्रदर्शन गरे। तर त्यसको कुनै सुनुवाई भएन। मुख्यमन्त्री शंकर पोखरेलको राजनीतिक इगोका कारण बुटवलबाट प्रदेश राजधानी सार्ने निर्णय भएको त्यस क्षेत्रकामात्र नभई सबैले बुझेको बिषय हो। जबकि अन्य ६ वटा प्रदेशको राजधानी साबिकै ठाउँमा राखिएका छन्। संभबतः प्रदेश ५ मात्र एउटा प्रदेश हुनेछ, जसको राजधानी मुख्यमन्त्रीका कारण सारिएको छ।
यहि मेसोमा सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच केन्द्रमा चर्किएको शक्तिसंघर्ष मुख्यमन्त्री पोखरेलको मध्यस्थतामा तत्कालका लागि साम्य गरिएको थियो। त्यहि बेला मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी बुटवलबाट सार्ने निर्णयमा अध्यक्षद्धयलाई सहमत गराएका थिए। दाहालका लागि यो निर्णय किन पनि उपयुक्त थियो भने माओवादीको हिंसात्मक बिद्रोहका बेला राप्ती क्षेत्र आधारभूमि रहेको थियो। त्यसैले प्रदेश राजधानी सो क्षेत्रमा लैजादा उनका लागि राजनीतिक जित हुने पक्का थियो। अर्कातिर अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पनि आफ्नो उत्तराधिकारीका रुपमा मुख्यमन्त्री पोखरेलको राजनीतिक भबिष्य सुरक्षित गर्न यसलाई उपयुक्त मौका ठानेर राजधानी सार्न सहमति जनाएका हुन्।
यसरी राजधानी राजधानी सार्ने बिषयमा अध्यक्षद्धयले महासचिब बिष्णु पौडेललाई सहमत गराउन अर्थमन्त्रालयको जिम्मा दिने निर्णय गरेका हुन्। सोही सहमति अनुसार प्रधानमन्त्री ओलीले बुधबार महासचिव पौडेललाई अर्थमन्त्री बनाएका हुन्। पौडेलका लागि अर्थमन्त्रालयमा अबको प्रबेश दोस्रो पटक हो। प्रदेश राजधानी बुटवलबाट सार्न नहुने स्थानीयको दबाबलाई बेवास्ता गर्दै महासचिव पौडेल अर्थमन्त्रीसँग राजधानी साट्न तयार भएपछि मतदाता रुष्टमात्र होइन, आक्रोशित भएका छन्।