कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले नै अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा आइतबार दिउँसो अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।
अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको बताएका छन्।
शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका हुन्। गत निर्वाचनमा गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत पाएका ६ प्रदेशमध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए। कर्णाली प्रदेशमा शाहीबिरुद्ध शुरुदेखि नै पूर्ब एमालेका प्रदेश सांसदहरु रुष्ट हुँदै आएका थिए।