नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। ३५ वटा व्यबसायीक संघसंस्थाका सदस्यहरुले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्।
नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानी सार्ने निर्णय गरेपछि व्यवसायीहरूले उक्त पार्टीमा रहन नसक्ने भन्दै राजीनामा दिएका हुन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए।
निरंकुश शैलीमा राजधानी सार्ने निर्देशनले माननीयहरूलाई मत राख्न समेत बञ्चित गरेपछि निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएको भन्दै उनीहरुले राजीनामा दिने निर्णय गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य समाप्त भएको बताए। उनले राजधानीसम्बन्धी संसदमा पेस भएको विधेयक फिर्ता लिन आग्रह गरे।