आसन्न १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा मुख्य बिपक्षी दल नेपाली कांग्रेसभित्र समूहगत भेला बाक्लिदै गएको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको शनिबार दिउँसो धापासीको दियालो पार्टी भेन्यूमा बसेको भेलामा हस्ताक्षर संकलन गरिएको छ। संस्थापन इतरका नेताहरुले सभापति शेरबहादुर देउवाले बिधान बिपरित एकपछि अर्को निर्णय गरेकोले त्यसबिरुद्ध संकलित हस्ताक्षरसहित देउवाले गरेको त्यस्ता कामको फेहरिस्त आइतबार पार्टी कार्यालयमा दर्ता गराउने निर्णय गरेका छन्।
शनिबारको भेलामा बरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिं केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, नबिन्द्रराज जोशी, दिपक गिरी, धनराज गुरुंग , जीवन परियार, कमला पन्त, चन्द्र भण्डारीलगायतका १७ जना केन्द्रीय सदस्य सहभागी भएको एक नेताले स्पेसखबरलाई बताए।
ती नेताका अनुसार काठमाडौं बाहिर रहेका बद्री पाण्डे, गुरुराज घिमिरे, रामकृष्ण यादब, सितादेबी यादब, महेश आचार्यले हस्ताक्षरमा सहमति जनाएका छन्। पौडेल पक्षले प्रदेश नं २ का ८ जिल्लाको समायोजन, क्रियाशील सदस्यता बिबाद, अन्य पार्टी छाडेर आएकाहरुका सन्दर्भमा सभापतिले गरेका एकपक्षीय निर्णय लगायतका बिषयमा असहमति जनाउँदै आइतबार पार्टी कार्यालयमा पत्र दर्ता गराउने तयारी छ। उनीहरुले तोकिएको मितिमा महाधिबेशन नहुने हो कि भन्ने शंका बढेको भन्दै महाधिबेशनको सुनिश्चितताका लागि दबाब दिन यस्तो अभियान शुर गरिएको बताएका छन्।
यसैबीच, पौडेल पक्षीय नेताहरुको भेला भइरहेका बेला पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले फोन आफूलाई फोन गरेको पौडेलले सदस्यहरुलाई जानकारी गराएका थिए। पौडेल पक्षीय एक नेताका अनुसार पौडेल र सिटौलाबीच आइतबार बिहान ९ बजे भेटघाट तय गरिएको छ। पौडेल पक्षीय नेताहरु आफ्नो अभियानमा सिटौलाको समर्थन चाहिरहेका छन्। आइतबारको भेटमा पौडेलले सिटौलालाई हस्ताक्षर अभियानमा मद्धत गर्न आग्रह गर्ने बताइएको छ।
उता, शनिबार दिउँसो नै सिटौला निबासमा गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, भीमसेनदास प्रधान र शिब हुँमागाईको बैठक बसेको थियो।
सिटौला पक्षीय एक नेताका अनुसार नेता थापाले महाधिबेशनको कार्यतालिकाबारे स्पष्ट हुनुपर्ने भन्दै बारम्बार कार्यतालिका हेरफेर गर्नु राम्रो नहुने बताएका थिए। उनले बिरोधका बीच बिभाग गठन गरेर कार्यकर्तामाझ राम्रो म्यासेज नगएको बताएका थिए। उनले सभापतिबाट पनि कमजोरी भएको भन्दै समायोजनको काम निर्देशिका बमोजिम टुंगो लगाउनु पर्नेमा जोड दिएका थिए। नेता थापाले देउवा वा पौडेल नेतृत्वको कांग्रेसले आगामी दिनमा बिपक्षीसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै कार्यकर्तामाझ आश जगाउन सक्ने नेतृत्वको खाँचो भएको बताए।
सो छलफलमा नेताहरुले अहिलेको बेलामा हस्ताक्षर संकलन गरेर महाधिबेशनको सुनिश्चितता हुने भन्दा पनि अन्यौल उत्पन्न हुने भएकोले महाधिबेशनको सुनिश्चितताका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले नेता सिटौलालाई देउवा र पौडेल दुबै नेतासंग भेटेर महाधिबेशनको सुनिश्चितताका लागि संवाद गर्न सल्लाह दिएका थिए।