जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। ती मध्ये १६ जना चितवनका छन्।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको। एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो।
चितवनका १६ मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १÷१ जनाको कोरोनाबाट मृत्यु भएको हो। जिल्लाको सबैभन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ। यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो। भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ। ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन्। सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन्।
भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उनले जानकारी दिए। यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ। राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ। सङ्क्रमित मध्ये हालसम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उनले जानकारी दिए।
जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन्। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ। ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन्। भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन्। हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ। रासस