आगामी फागुन ७ देखि १० गतेसम्मका लागि निर्धारित नेपाली कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण तोकिएको समयमा नहुने पक्का जस्तै छ। यद्यपि कांग्रेसले यसको औपचारिक निर्णय भने गरिसकेको छैन। एक दुई महिना पछाडि गए पनि महाधिवेशनले चयन गर्ने नेतृत्वका बारेमा बहस भने कांग्रेसबृत्तमा बहस शुरु भएको छ।
कांग्रेसको विधानले पदाधिकारीमा महिलाका लागि पहिलो पटक एउटा पद छुट्याएको छ, सहमहामन्त्री। १३ सदस्यीय पदाधिकारीमा महिलाका लागि आरक्षण गरिएको सहमहामन्त्रीको एउटा पद पर्याप्त नभएकाे तर्क पनि एकथरीले गरिरहेका छन्। कांग्रेसको विधान अनुसार तल्लाे तहदेखि केन्द्रीय संरचनामा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ। यस हिसाबले १३ सदस्यीय पदाधिकारीमा एकमात्र महिलाको आरक्षण न्यून भएको भन्ने तर्क आफ्नो ठाउँमा बलियो नै छ। त्यसैकारण कतिपय महिला नेतृ महाधिबेशन अघि नै विधान संशोधन गरेर उपसभापति र महामन्त्रीमा पनि एकजना महिला उम्मेद्वारको कोटा छुट्याउनु पर्ने पनि बताउँदै आएका छन्।
यिनै तर्कका बीच केही नेतृहरुले सहमहामन्त्रीको दाबी प्रस्तुत गरिरहेका छन् भने तिनैमध्येका केही महामन्त्रीका लागि आन्तरिक छलफलमा जुटेका छन्। कांग्रेस केन्द्रीय सदस्यहरु डीना उपाध्याय, ईश्वरी न्यौपाने, पुष्पा भुसाल, डिला संग्रौला, उमा रेग्मी, कमला पन्त, सरिता प्रसाई, किरण यादब र रत्ना शेरचन पदाधिकारीमा जाने नेताका रुपमा चर्चामा छन्। यी मध्ये उपाध्याय, न्यौपाने, भुसाल, रेग्मी र संग्रौला संस्थापन निकट हुन् भने पन्त, प्रसाई, यादव र शेरचन इतर समूहका। यी सबैजसो नेतृ सहमहामन्त्रीका आकांक्षी हुन्। तर उपाध्याय भने महामन्त्री वा सहमहामन्त्रीमध्ये एकमा प्रतिस्पर्धा गर्नेबारे निकटजनहरुसँग आन्तरिक छलफलमा छन्।
अधिकांश नेतृहरुले महाधिबेशनको मिति आउन अझै धेरै समय भएकाले कुन पदमा उठ्ने टुंगो लागिनसकेको भन्दै अहिल्यै कुरा गर्नु हतार हुने बताए पनि उनीहरुले आन्तरिक छलफल र भेटघाट भने निरन्तर गरिरहेकै छन्।
पूर्बमन्त्री उपाध्याय १३ औं महाधिबेशनमा खुल्ला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी थिइन्। केन्द्रीय सदस्यमा सजिलै बिजयी हुने आरक्षणको बाटो छाडेर उनी खुला प्रतिस्पर्धामा उत्रिएकी थिइन्। पटक पटक केन्द्रीय सदस्य भएकाहरु पनि सुरक्षित हुने नाममा आरक्षणमा बस्दा अरुले अवसर नपाउने भएकोले खुलामा प्रतिस्पर्धा गरेको उपाध्यायले बताएकी थिइन्। महाधिवशेनमा पराजित भए पनि उनलाई कांग्रेसले केन्द्रीय सदस्य मनोनित गरेको छ।
प्रतिनिधिसभामा कांग्रेस सचेतक रहेकी पुष्पा भुसाल कानुन व्यबसायको पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्। प्रतिनिधि सभामा नेतृ हुन्।
केन्द्रीय सदस्य एवं पूर्बमन्त्री कमला पन्तले पनि सार्बजनिक रुपमा सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने भनेर त भनिसकेकी छैनन्। तर छलफमा सहमहामन्त्रीमा उम्मेद्वारी दिनबारे पन्तले आन्तरिक तयारी गरिरहेको निकटजनहरु बताउँछन्। नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी पनि पदाधिकारीकै लाइनमा छन्। ईश्वरी न्यौपाने, डिला संग्रौला,सरिता प्रसाई, किरण यादव र रत्ना शेरचन पनि आफ्नो समूहका नेताहरुसँग आन्तरिक छलफलमा छन्। पटक पटक केन्द्रीय सदस्य भएकोले अबको बाटो पदाधिकारी भएको उनीहरुको भनाई छ।
महामन्त्री, सहमहामन्त्रीमा दावी गरे पनि अन्ततः महाधिवेशनमा कस्तो समीकरण बन्छ त्यसले नै उनीहरुको उम्मेद्वारी निर्धारण गर्ने एकथरी कांग्रेसहरु बताउँछन्। हुन पनि संस्थापन र इतर समूहका नेताहरुबीच पुरानै समीकरणका आधारमा चुनावी प्रतिस्पर्धा हुने हो कि नयाँ समीकरण बन्ने हो अहिले नै भन्न सकिने अबस्था छैन। पुरानो समीकरण कायम रहेमा दुई वा तीन समूहबाट बढीमा तीनजना सहमहामन्त्रीका उम्मेद्वार हुनेछन्। तर नयाँ समीकरण बनेमा कांग्रेसको परम्परागत गुट नरहने मात्र होइन, पदाधिकारीका आकांक्षी समेत बढ्नेछन्। जसले गर्दा सहमहामन्त्रीका उम्मेद्वारहरु पनि धेरै हुनेछन्।
कांग्रेसमा अहिलेको केन्द्रीय पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ८ जना सहमहामन्त्री र एक कोषाध्यक्ष हुन्छन्। कोषाध्यक्ष निर्वाचित कार्यसमितिले मनोनीत गर्नेछ भने अन्य सबै पदाधिकारी निर्वाचनमार्फत चुनिने छन्।