विधानको भावना र उद्धेश्य बिपरित नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पत्रकारितामा संलग्न नरहेका ६५ जनाको नाम नयाँ सदस्यताका लागि सिफारिस गरेर पठाएको भन्दै जिल्लामा कार्यरत क्रियाशिल पत्रकार र सम्बद्ध संघसंस्थाहरुले बिरोध जनाएका छन्।
नुवाकोटको सदस्यता सिफारिसका सन्दर्भमा प्रेस संगठन नेपालको बागमती प्रदेश समितिले पहिल्यै बिरोध जनाईसकेको थियो भने प्रेस युनियन नुवाकोटले गैह्रपत्रकारहरुको सदस्यता खारेजीका लागि पत्रकार महासंघको प्रदेश समितिमा उजुरी गरिसकेको छ।
पत्रकार महासंघ नुवाकोटको २०७६ भदौ २५ गतेको बैठकले नयाँ सदस्यताका सन्दर्भमा आवश्यक छानविन गरी सिफारिस गर्न जिल्ला सचिव जगदिश खनालको संयोजकत्वमा गठन गरेको कार्यदलले ८२ जनाको नाम सिफारिस गरेपछि जिल्ला शाखाले अनुमोदनका लागि बागमति प्रदेश समितिमा पठाएको थियो। तर तत्कालै प्रेस संगठनको प्रदेश समितिले बिरोध जनाएपछि सहमतिमा नाम सिफारिस गर्न भन्दै सदस्यता सिफारिसको फाईल प्रदेश समितिले जिल्लामै फिर्ता पठाएको प्रदेश समितिका एक पदाधिकारीको भनाई छ।
भदौमा गरिएको सिफारिस फिर्ता आए पनि लामो समयसम्म कसैसँग सम्वाद नगरी बसेको महासंघ नुवाकोटको नेतृत्वले एक्कासी गत साउन २० गते जिल्ला समितिको बैठक राखेर कार्यदलको सिफारिस सम्पूर्ण रुपमा अनुमोदन गरी पठाउने निर्णय गरेको थियो। तर बैठकमा जिल्ला उपाध्यक्ष रामहरी न्यौपानेले गैह्रपत्रकारहरुको बाहुल्यता रहने गरी सदस्यता सिफारिस भएपछि लिखित असहमति जनाएपछि रातारात अर्को बैठक पुस्तिका तयार गरेर कार्यदलको सिफारिसमा परेका ३२ जनाको नाम हटाएर बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, निर्माण व्यवसायी र बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु समेत समेटेर नयाँ सिफारिस गरिएपछि पत्रकार महासंघमा सदस्यता बिवाद उब्जिएको हो।
यसैबीच, पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष रामहरि न्यौपानेले पत्रकार महासंघको सदस्यता सुद्धिकरण गर्नुको साटो गैह्रपत्रकारहरुको भीड जम्मा गरेर संस्थाको गरिमामाथि प्रहार गर्ने काम भएको भन्दै सदस्यता छानविन गरी गैह्रपत्रकारहरुको सदस्यता खारेजी गर्न पत्रकार महासंघको बागमति प्रदेश समितिमा उजुरी दिँदै केन्द्रीय समितिलाई बोधार्थ पठाएका छन्।
सदस्यता नविकरणका सन्दर्भमा बिधान बिपरित बिभिन्न राजनीतिक दलका पदाधिकारी र सरकारी कर्मचारीहरुसमेतको नाम सिफारिस गरिएकोप्रति पनि न्यौपानेले दुबै समितिको ध्यानाकर्षण गराएका छन्।
पत्रकार महासंघको जिल्ला अधिबेशन आगामी फागुनमा हुन लागेको सन्दर्भमा जसरी पनि नेतृत्व आफ्नो पक्षमा ल्याउन उद्यत भएकाहरुले भोटकै लागि सदस्यता बढाउने काम गरेको महासंघ नुवाकोटका पूर्ब अध्यक्ष राजुमित्र खनालको भनाई छ। जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिल ३० जना भन्दा बढी नरहेको सन्दर्भमा दुईसय जना सदस्य हुने गरी सदस्यता सिफारिस गरिनुले महासंघको साख गिराउने काम भएको खनालको भनाई छ।