प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा बुझाएका छन् । अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएर उनले राजिनामा बुझाएका हुन् ।
शुक्रबार सञ्चार मन्त्रालयमा संञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री खतिवडाले आफू सदैव मुलुकको हित र जनताको हितका लागि लागिरहने बताए । मन्त्रीपरिषद्को बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेको उनले बताए।
राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफू व्यक्तिगत अभिष्ट पुरा गर्न नभइ राष्ट्रका लागि गरेको भनेर बुझिदिन उनले आग्रह गरे। उनले पदमा रहदा वा नरहदा पनि व्यक्तिगत स्वार्थमा नलाग्ने स्पष्ट पारे । उनले धेरै अनुभव संगालेर सरकारबाट बिदा हुन लागेको बताए ।
त्यस्तै उनले सञ्चारमन्त्रीको रुपमा काम गर्दा प्रत्यक्ष रुपमा सञ्चार क्षेत्रलाई बुझ्ने मौका पाएको बताए । खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए।
राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनी दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए । संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।