मुख्य बिपक्षी दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशन र नेतृत्वको चर्चा परिचर्चा शुरु हुन थालेको छ।
अघिल्ला महाधिबेशनको तुलनामा १४ औं महाधिबेशनमा नेतृत्वका लागि आकांक्षी धेरै नै हुने संभावना देखिएको छ। आगामी संसदीय निर्वाचनमा अधिक मतदाता युवापुस्ता हुने भएकोले ती मतदातालाई आकर्षित गर्न पनि पहिलो पुस्तालाई ससम्मान बिश्राम दिनुपर्ने मत बलियो हुँदै गएको छ। त्यसो हुँदा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अभिभाबकको भूमिकामा रहने छन्। देउवा र पौडेलको अनुभब अनि दोस्रो पुस्ताको सुझबुझपूर्ण खटाईले आगामी निर्बाचनमा कांग्रेस पुनः पहिलो पार्टी बन्ने कांग्रेसजनहरुको बुझाई छ।
१४ औं महाधिवेशनमा सभापतिपछि दोस्रो पदाधिकारीका आकांक्षी डा. मीनेन्द्र रिजाल देउवा र पौडेलको सम्मानजनक बहिगर्मन हुनुपर्नेमा जोड दिन्छन्। यसो हुनासाथ कांग्रेसजनमा उत्साह आउने र त्यसको प्रभाब सिंगो मुलुकको राजनीतिमा पर्ने रिजालको बुझाई छ। कांग्रेस मजबुत नभएसम्म संविधान र लोकतन्त्र धरापमा पर्ने उनी बताउँछन्। उपल्लो तहका नेताहरु धेरै भए पनि त्यस अनुसार तल्लो तहमा संगठन बिस्तार हुन नसक्नु नै कांग्रेसको अहिलेको मुख्य कमजोरी ठान्छन् उनी।
१४ औं महाधिबेशमा पदाधिकारीमा जति धेरै नेता प्रतिस्पर्धा गर्छन् त्यति नै पार्टीलाई फाइदा हुने डा. रिजालको बुझाई छ। यसो हुँदा प्रतिस्पर्धामा आउन नसक्नेहरु स्वतः बाहिरिने छन्। त्यतिबेला कार्यकर्ताले पत्याएनन् भनेर बाहिरिनुको बिकल्प हुदैन।
यसो हुँदा कांग्रेसका परम्परागत गुटहरु भत्किनेमा डा. रिजाल बिश्वस्त छन्। जसको सकारात्मक प्रभाब पार्टीमा पर्ने उनको बुझाई छ। भन्छन् ‘यसबाट कांग्रेसमा पक्कै नयाँ बसन्त आउने छ।’
सभापतिपछिको दोस्रो पदमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताउँने डा. रिजाल आफू जित्नेमा बिश्वस्त छन्। कार्यकर्ताले पत्याएनन् भने के गर्नु हुन्छ नि? स्पेसखबरको जिज्ञासामा उनले भने ‘हारें भने कार्यकर्ताले पत्याएनन् भनेर खुसीले बिश्राम लिन तयार छु।’
सभापति देउवा निकट रहेका डा. रिजाल १३ औं महाधिबेशनमा गुट परिबर्तन गरेर तत्कालीन संस्थापमा जोडिएका थिए। अहिले संस्थापन इतरमा सभापतिका आकांक्षी धेरै छन्। धेरै प्रतिस्पर्धी हुनुपर्छ भनेर सभापतिमा देउवालाई समर्थन गर्न खोज्नु भएको त होइन भन्ने प्रश्नको जबाफमा डा. रिजाल भन्छन् ‘संस्थापनमा पनि शेरबहादुरजी निर्बिकल्प हुनुहुन्न, विमलेन्द्रजीले चुनाव लड्छुु भन्नु भएको छ नि।’