सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि महासचिब बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलपछि कार्यदल बनाइएको हो। कार्यदलमा महासचिव पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन्। कार्यदललाई जतिसक्दो छिटो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।
नेकपाभित्र प्रधानमन्त्री ओलीले बिराधी खेमालाई पेल्न थालेपछि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै आएका छन्। ओली इतर पक्षीय नेताहरुले हालै थापागाउँको एक निजी कलेजमा भेला गरी आफ्ना असन्तुष्टी सार्वजनिक गरेपछि ओली पक्षीय नेताहरु केही लचिलो बन्न खोजेको संकेत मिलेको छ।
तर दाहाल नेपाल पक्षीय कतिपय नेताहरुको बुझाईमा तत्कालको संकट टारेर आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदमा रहिरहनका लागि ओलीले कार्यदल गठन गरेका हुन्। एक नेताले भने यो सबै भुलभुलैया मात्रै हो, ओलीले केही छाड्नेवाला छैनन्।