नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पीसीआरको दायरा माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताएका छन् ।
आइतबार कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ‘ई’ सँगको भेटपछि नेता पौडेलले यस्तो बताएका हुन्। उनले सरकारले नै पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्नुपर्नेमा यस्तो माग राखेर अनसन बस्नुले सरकारले असफलता प्रमाणित भएको उल्लेख गरे ।
उनले लगातार अनसन बस्दा पनि जायज मागलाई नसुन्ने सरकार अटेरी भएको टिप्पणी पनि गरे । पौडेलले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । अनसन गरिसकेपछि पनि राज्यले ध्यान नदिनु सरकारले बेवास्ता गरेर बस्नु १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको समेत उनले बताए ।
वरिष्ठ नेता पौडेल पार्टीका साथमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू पनि अनसनस्थल पुगेका थिए । अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन् । यसअघि सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वन नगरेको भन्दै ‘इनफ इज इनफ’ले दोश्रो पटक आन्दोलन गरेको हो ।