संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन्।
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संवद्र्धन गरिने बताए।
कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले स्थानीय जात्रा र पर्वको जगेर्ना गर्दै पशुपति क्षेत्रको सम्पत्तिमाथि भइरहेको अतिक्रमणलाई रोक्ने बताए। अतिक्रमणको चपेटामा परेको कोषको जग्गाका सम्बन्धमा उनले भने, “पशुपतिको सम्पति माथिको अतिक्रमण रोक्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।”
कोषको उक्त जग्गा विगतमा विभिन्न मुद्दा मामिला झेल्दै आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गरेको छ । पछिल्लो पटक अख्तियारले पशुपतिको बृहत्तर हितमा रहने गरी पारदर्शी र प्रतिस्पर्धी ढङ्गले उपयोग गर्न कोषलाई लिखित निर्देशन दिएको छ ।
सोही निर्णयका आधारमा पारदर्शी कार्यविधि बनाएर जग्गाको माटो र बालुवा व्यवस्थापन गरी दैनिक चोरी निकासी रोक्नेगरी काम अघि बढाइने पर्यटनमन्त्री भट्टराईले बताए । पर्यटनमन्त्री भट्टराईले गुरुयोजनालाई अघि बढाउने सन्दर्भमा स्थानीयवासीको गुनासो पनि सम्बोधन गर्नेगरी त्यस क्षेत्रका जनप्रतिनिधि, प्रदेश तथा सङ्घका सांसद तथा राजनीतिक दलका प्रतिनिधिलाई राखेर प्रक्रिया अघि बढाइने उल्लेख गरे।
कोषको जग्गासँग जोडिएका स्थानीयवासीको निजी सम्पत्ति भएमा पनि पशुपतिको मापदण्डभित्र रहेर घर वा सार्वजनिक संरचना बनाउँदा पशुपतिको सौन्दर्यता, पुरातात्विक महत्व र ऐतिहासिक सन्दर्भलाई असर नगर्ने गरी संरचना बनाइनुपर्ने पर्यटनमन्त्रीको भनाइ छ । मन्त्री भट्टराईले आजै सामाजिक सञ्चाजल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै कोषको जग्गा सम्बन्धमा सरकारले सबै सरोकारपक्षसँग छलफल गरेर सहमति बनाउने उल्लेख गरे।
गुरुयोजनाकाे विरोध र्याली
सरकारले अघि सारेको पशुपति बिकास गुरुयोजनाको बिरोधमा पशुपति क्षेत्रका स्थानीयहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
गुरुयोजनाले पशुपति क्षेत्रको प्राचिनता र मौलिकता नष्ट गर्ने भन्दै स्थानीयबासीहरुले गौशला र पशुपति क्षेत्रमा र्याली निकालेका हुन् ।
काठमाडौं महानगरपालीका वडा नंवर ८ मा रहेको पशुपति क्षेत्रमा रहेका स्थानीयहरुले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै बनाएर गुरुयोजनाको विरोध गर्दै आएका छन् । र्यालीमा सास्कृतिक तथा मौलिक बाजागाजा सहित बिरोध र्यालीमा सहभागी भएका थिए ।
गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउन नभइ वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप लगाएको छ ।