सचिवालय र स्थायी कमिटी बैठकमा रुमल्लिएको सत्तारुढा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ।
सचिवालय र स्थायी कमिटीबाट समाधान निस्कन नसकेपछि केन्द्रीय समिति बैठकको माग गर्दै १५२ जना सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पार्टी कार्यालयमार्फत बुधबार पत्र बुझाएका छन्। जगन्नाथ खतिवडा, ठाकुर गैह्रे,हिमाल शर्मा लगायतका नेताहरुले बैठकको माग गरेका हुन्। ज्ञापनपत्र बुझाउने दाहाल नेपाल समूहका नेताहरु छन्।
स्थायी कमिटी र सचिवालय बैठकबाट समाधान निस्कन नसकेपछि पार्टी एकता बचाउन बैठकको माग गरिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। उनले पार्टी बिधिसम्मत ढंगबाट चल्नुपर्छ भन्ने आपूmहरुको माग रहेको बताए।
नेकपाको विधान अनुसार एक चौथाई सदस्यले बैठकको माग राखेमा एक महिनाभित्र बैठक बोलाउनुपर्ने ब्यवस्था छ। नेकपाको केन्द्रीय समिति ४४१ सदस्यीय छ।
नेकपा स्थायी कमिटी र सचिवालयमा प्रधानमन्त्रीको राजीनमाको माग उठेपछि ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन््। दाहाल र माधव नेपाल पक्ष भने राजीनामाको माग गर्दै आएका छन्।
मंगलबारको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले अन्तिम समयमा एक्कासी स्थगित गरेपछि अर्का अध्यक्ष दाहालले संचालन गरेका थिए। ओली पक्षीय नेताहरुले भने मंगलबारको बैठक नै अवैधानिक भएको भन्दै आएका छन्।