राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा ११ केन्द्रीय सदस्यसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । त्यस अवसरमा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड वितरण गरेका थिए ।
कांग्रेसकाे सदस्यता लिदै थापाले लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर प्रवेश गरेकाे बताए।
थापासँगै केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत कांग्रेस प्रवेश गरेका छन्।
कांग्रेसले थापालाई सहमहामन्त्री बनाउने लगभग पक्का जस्तै छ भने अन्य पाँचलाइ केन्द्रीय सदस्य बनाउने तयारी गरेकाे छ ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रे वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेता, कार्यकर्ता सहभागी थिए ।
आफ्नै बाबु सुर्यबहादुर थापाले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।