सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको विवाद हल गर्नका लागि भन्दै लगातार स्थायी कमिटी बैठक स्थगित गरेर आन्तरिक छलफलमा जुटेका अध्यक्षद्धय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको ‘वान टु वान’ वार्ता औपचारिकतामा सीमित हुँदै आएको छ।
आफूबिरुद्ध घेराबन्दी शुरु भएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा १६ असारदेखि उनको समर्थनमा सडक प्रदर्शन भइरहेका छन्। सोही दिन स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागिएको थियो। आफ्नो बिकल्पमा कोही नभएको देखाउनका लागि बालुवाटारकै संयोजनमा प्रदर्शन भएका हुन्।
ओलीसँगको बुधबारको छलफलमा अर्का अध्यक्ष दाहालले सडकमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताए। तर ओली भने प्रदर्शन रोक्न सहमत छैनन्। अर्थात् प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले जति बिरोध गरे पनि कार्यकर्ता आफ्नो साथमा रहेको कुरा युवा, विद्यार्थीलाई सडकमा उतारेर पुष्टि गर्न खोज्दैछन् प्रधानमन्त्री ओली । कुनै व्यक्ति बिशेषका पक्षमा भएका प्रदर्शन रोक्न दाहालले गरेको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेका छन्।
बुधबारको छलफलमा पनि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान राखेका छन्। उनी फेरी पनि प्रचण्डलाई फकाएर नेपालको शक्ति कमजोर बनाउने रणनीतिमा छन्। यो कुरा बुझेर दाहालले राजीनामा दिनुपर्ने आफूहरुले बटमलाईन भएको बताएका छन्।
ओलीसँगको भेटपछि प्रचण्डले आफ्नै निवासमा नेता नेपाल र झलनाथ खनाललाई छलफलमा कुनै प्रगति नभएको जानकारी गराएका थिए। ओली भने प्रचण्डसँगको छलफलपछि शीतल निवास पुगेका थिए। पार्टीभित्रको बिबाद चुलिएपछि ओली हरेक दिनजसो शीतल निवास पुगेर छलफल गर्दै आएका छन्।
सहमतिको प्रयास भन्दै १० असारदेखि सुरू भएको स्थायी कमिटी बैठक सर्दै आएको छ। पछिल्लो पटक बुधबारका लागि बोलाइएको बैठक शुक्रबारका लागि सारिएको छ।