गत मंसिरमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नु पर्ने बेनी–जोमसोम–कोरला सडक आयोजनाले समयमा काम गर्न नसक्दा चालु आर्थिक बर्षको बजेट नै फ्रिज भएको छ। चालु आवमा ९० करोड रुपैंया फ्रिज भएको हो।
२०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको जोमसोम–कोरला खण्डको स्तरोन्नति २०७३ मा सुरु भएको थियो। कठेकेदारसँगको सम्झौता अनुसार यो सडकको काम २०७६ मङ्सिरसम्म सम्पन्न गरिसक्नु पर्ने थियो। १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु. ६ अर्बको बजेट छुट्याइएको थियो।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको यो सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको भए पनि समयमा काम पूरा नभएपछि स्थानीय चिन्तित भएका छन्।
असार दोस्रो साता जिल्लामा आइपुगेका पूर्बमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीसँग सो सडक अलपत्र परेको भन्दै स्थानीयले गुनासो गरेका छन्। उनीहरुले आयोजना अघि बढाउन नेता थकालीले गरेको पहलको स्मरण गर्दै यसलाई सम्पन्न गर्नका लागि पनि अग्रसर हुन ध्यानाकर्षण गराए।
यसबाट मुस्ताङ जिल्लामात्र नभई सिंगो गण्डकी प्रदेश पछाडि परेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन्। गत संसदीय निर्वाचनमा मुस्ताङबाट कांग्रेस पराजित भएसँगै जिल्लाको विकास निर्माण ठप्प भएको स्थानीयको भनाई थियो। जिल्लाको विकासका लागि आउँदो चुनाबमा कांग्रेसलाई मस्ताङबाट अत्यधिक मतका साथ बिजयी गराउने प्रतिबद्धता समेत उनीहरुले व्यक्त गरे। स्थानीय तहमा कांग्रेस बहुमतमा रहेपनि केन्द्रको राजनीतिका कारण जिल्लामा काम गर्न समस्या भएकोमा उनीहरुले चिन्ता गरे।
साथै उनीहरुले सांसद विकास कोषको रकम दुरुपयोग भएकोमा नेता थकालीको ध्यानाकर्षण गराएका थिए। स्थानीयका अनुसार नेकपाले आफ्ना कार्यकर्ताहरूलाई उपभोक्ता समिति बनाएर बजेट दुरुपोग गर्दै आएको छ।
स्थानीयको गुनासो सुनेपछि पूर्बमन्त्री थकालीले जनताको करको पैसा दुरुपयोग गर्ने छुट कसैलाई नभएको बताए। उनले आफ्नो पालामा कोषको रकम जिल्ला विकास समितिमार्फत खर्च गरिएको स्मरण गराएका थिए। साथै उनले अहिलेको जनप्रतिनिधिले आफ्ना गल्ती स्वीकार्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने बिश्वास व्यक्त गरे। थकालीले कांग्रेस पराजित भए पनि मुस्ताङको विकासमा आफू सदैब जनताको साथमा रहेको बताए। उनले अग्रसरता लिने प्रतिबद्धता जनाए।
पूर्बमन्त्री थकालीले जिल्लाको विकासका लागि अब स्थानीय जनताले अग्रसरता देखाउनु पर्ने बताए।
अर्को एक प्रसंगमा नेता थकालीले कोरोना भाइरसको महामारीबाट जोगाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएर गएका नेकपाका जनप्रतिनिधिहरूले राजनीतिकस्तरबाट गर्नुपर्ने काम गर्न नसकेको बताए। उनले नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरूभन्दा कोरोना भाइरसको महामारीमा राहत तथा उद्धारमा स्थानीय प्रशासन र सुरक्षा निकायले राम्रो काम गरेको भन्दै प्रशंसा गरे।
नेपाली कांग्रेस मुस्ताङका महासमिति सदस्य एवम् प्रजातान्त्रिक योद्धा पेमा छिरिङ गुरुङको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न जिल्ला पुगेका थकालीले गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको बताए।
चराङ निवासी गुरुङ गत स्थानीय निर्वाचनमा डालेमा दामोदर कुण्ड गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए। उनी झिनोमतले पराजित भएका थिए।
पूर्वमन्त्री थकालीले चारङ, लोमान्थाङ, जोमसोम र लेतेमा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेट गरेका थिए। लोमान्थाङ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता सुवर्ण विष्ट, उपप्रमुख एवम् कांग्रेस नेतृ छुमी विष्ट, मुक्तिनाथ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता धारा गुरुङ, थासाङ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता बुद्धिप्रसाद शेरचन, उपप्रमुख बालकुमारी शेरचन, नेविसंघ मुस्ताङका जिल्ला अध्यक्ष आक्रोश शेरचन, नेपाल दलित संघका जिल्ला अध्यक्ष हरि नेपाली, जिल्ला समन्वय समितिका उप–प्रमुख राजेन्द्र शेरचन, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो।