सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबारको बैठकमा उपस्थित अधिकांश नेताले घाँटीमा नीलो रङको कार्डजस्तो झुन्ड्याएका थिए।
बैठकमा सहभागी एक सदस्यका अनुसार नेकपाका वरिष्ठ नेता माधव नेपालले ’कोरोना भाइरस नजिक आउन नदिने’ भन्दै बैठकमा उपस्थित नेताहरूलाई उक्त कार्ड वितरण गरेका थिए। स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले यो कार्ड केटाकेटीलाई भूतप्रेत नलागोस् भनेर लगाइदिने जन्तरजस्तै लागेको प्रतिक्रिया दिएका छन्।
जबकि यस्तो कार्ड झुन्ड्याएर हिँड्दा कोरोनाबाट जोगिन सकिन्छ भनेर प्रमाणित भएको छैन। र वैज्ञानिक हिसाबले प्रमाणित तथ्य पनि होइन। जनस्वास्थ्यका डाक्टरहरुले पनि यसको आधिकारिकताबारे कहिंकतै पुष्टि नभएको बताएका छन्।
अनि यो कार्ड सत्तारूढ दलको बैठकसम्म कसरी पुग्यो ? जुन कार्ड ’बियोन्ड द वाल ट्रेडिङ’ ले बिक्री गरेको हो। कम्पनीका सञ्चालक विप्लव भट्टराई प्रचार गरिएजस्तो यो कोरोनाको औषधि नभएको बताउँछन्। कार्डबाट निस्किने क्लोरिन अक्साइड नामक ग्यासले वरपरका भाइरस नियन्त्रण गर्ने उनको उनको दाबी छ।
कार्डको पछाडि प्रयोगकर्ताले गर्न हुने र नहुनेबारे लेखिएको छ। कसरी र कति दिन प्रयोग गर्ने भनेर पनि त्यसैमा लेखिएको छ। चीनमा बनेको उक्त कार्डबारे बेइजिङकै एक समाचार संस्था ’सिजिटिएन’ ले यसको प्रयोग घातक हुनसक्ने बताएको छ।