मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक विभेद नहुने गरी नागरिक विधेयक अघि बढाउन सत्तारुढ नेकपासँग माग गरेका छन्।
संसदको राज्य व्यबस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकले बहुमतबाट नागरिक विधेयक पारित गरेको एकसातापछि सभापति देउवाले लिङ्गको आधारमा विभेद नहुने गरी समानताको अवधारणा र मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन सत्तारुढ नेकपासँग माग गरेका हुन्।
बुधबार ट्वीट गर्दै उनले भनेका छन् “महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु।”
संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको स्मरण गराउँदै सभापति देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन्। देउवाले ट्वीटमा भनेका छन्, “हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि। ”
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्न नहुने उनको भनाई छ।