नेपाली काँग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष तथा पार्टीका वडा सभापति रामनरेश महतोविरुद्ध सत्ताको प्रभावमा परी मोलाहिजाबाट किटानी जाहेरी दर्ता गरिएको भन्दै सो घटनाको विरोध जनाएको छ।
सर्लाहीको रामनगर गाउँपालिकाअन्तर्गत गाउँमा रामजन्म रायको मृत्यु भएको घटनाका सम्बन्धमा वडाध्यक्ष महतोले जिल्ला प्रहरी कार्यालयमा स्वयं जानकारी गराई सहयोग गरेको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा उहाँलगायतका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गरिएको काँग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो।
सरकारवादी फौजदारी घटनामा प्रहरी प्रशासनबाट कानूनबमोजिम जाहेरी दर्ता गर्नुगराउनु पर्नेमा सर्लाहीलगायत कतिपय जिल्लामा राजनीतिक पूर्वाग्रह राखी निर्दोष व्यक्तिहरुलाई किटानी जाहेरी दर्ता गर्नुले मुलुकको सुरक्षा निकाय तथा न्यायिक र अर्धन्यायिक निकायले समेत सत्ताको निर्देशन र राजनीतिक प्रभावमा काम गर्ने गरेको काँग्रेसको आरोप छ।
वडाध्यक्ष महतोलगायत घटनामा कुनै संलग्नता नै नरहेका र थुनामा राखिएका सबैलाई अविलम्व थुना मुक्त गरी घटनाको निष्पक्ष छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न काँग्रेसले सरकारसँग माग गरेको छ।