रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ।
संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन्। समितिमा रहने सदस्यहरूका बिषयमा दलहरूसँग परामर्श गरिने सभामुख सापकोटाले बताएका छन्।
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको १० जेठमा ‘हत्या’ भएको थियो। पीडित पक्षले गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको बताएका छन्।
शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएपछि सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन्।
कांग्रेसले अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो।