मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गराएको छ।
केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार कांग्रेसका आठ सांसदहरुले मंगलबार दिउँसो संसद संशोधन प्रस्ताब दर्ता गरेका हुन्।
संशोधन प्रस्ताव दर्ता गर्नका लागि सांसदहरु प्रदीप गिरी, चित्रलेखा यादव, पद्मनारण चौधरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी पुगेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा समानुपातिक समावेशीको बिषय थप गरिएको छ। संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ । यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो । अहिलेको संशोधनमा ती सबै बिषय राखिएका छन्।
देउवा सरकारले लगेको संविधान संशोधनको प्रस्तावमाथि २०७४ भदौ ५ गते संसदमा भएको मतदानको पक्षमा कांग्रेस, माओवादी केन्द्र, राजपालगायत दलले समर्थन गरे पनि नेकपा एमाले, राप्रपा, नेककिपा, राजमोलगायत दल विपक्षमा उभिएका थिए।
२०७२ सालमा संविधान जारी गर्दा प्रमुख दलका शीर्ष नेताहरुले संविधानमा छुटेका बिषयबस्तुलाई आगामी दिनमा संशोधन माफर्त सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।