प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले पश्चिमरुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको निशुल्क उपचार गर्न निर्देशन दिदैं दोषीमाथि कानुनी कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो। समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न पनि निर्देशन दिएको छ। दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।
उक्त घटना मानवताविपरीत भएको बैठकले ठहर गरेको छ। बन्दाबन्दीको समयमा हिंसाका घटना भएको भन्दै त्यसलाई रोक्न आवश्यक पहलकदमी गर्न पनि निर्देशन दिइएको पोखरेलले जानकारी दिए।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको जानकारी गराए। मन्त्री थापाले घटनास्थलमा प्रहरी ढिला पुगेको स्वीकार गर्दै कमजोरी पाइए विभागीय कारबाही हुने स्पष्ट पारे। उक्त घटनाको स्थानीय, प्रदेश र केन्द्रबाट भइरहेको छानबिन अन्तिम चरण पुगेको गृहमन्त्री थापाले जानकारी गराए।
त्यस्तै महान्यायाधिवक्ता अग्नि खरेलले ५ जनाको हत्या भएको र एकजना बेपत्ता रहेको रुकुम घटनाका पीडित र मृतकका परिवारमाथि अन्याय हुन नदिने बताए। उनले केही घटनामा अनुसन्धान ढिलाई भएको भन्दै रुकुम घटनामा त्यस्तो नहुने स्पष्ट पारे। खरेलले विगतमा छुवाछुतसम्बन्धी कानुनहरु बनाए पनि कार्यान्वयनमा चुक्दा यस्ता घटना भइरहेको बताए।
बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले घटनाको निष्पक्ष छानविन भइरहेको जानकारी दिए। गृह मन्त्रलायका सहसचिव नेतृत्वको एउटा टोली तथा सिआइबीको अर्को टोली र नेपालगञ्जबाट संघीय प्रहरीको अर्को टोली गरी तीनवटा टोली घटनाको अनुसन्धान र जाँचबुझमा खटिएको उनको भनाई छ।
समिति सदस्यहरुले उक्त घटनामा संसदीय छानविन समिति गठन हुनुपर्ने बताए। उक्त घटनाको अनुसन्धान फितलो भए सदनमा नै चर्को आवाज उठाउने चेतावनी उनीहरुले दिए।
यहि जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार लगायतको मृत्यु भएको थियो।