पूर्व संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। मिश्रले आफू असुरक्षित भएको भन्दै सोमबार निवदेन दर्ता गराएका हुन्।
टोखा नगरपालिका वडा नम्बर ११ बस्दै आएका मिश्रले गत वैशाख ३० गते मध्यान्ह १२ बजे चार जना मोटरसाइकलमा आएका मानिसले आफ्नो घरको फोटो लिएर गएको र तीमध्ये दुई जना भारतीय नागरिक भएको निवेदनमा उल्लेख गरेका छन्।
फोटो खिचेर रेकी गर्ने काम पूर्व संचारमन्त्री बास्कोटाकै योजनामा भएको दाबी गर्दै मिश्रले बास्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइरहेको समेत निवेदनमा लेखेका छन्।
‘यो मलाई नै मार्ने किसिमले गरेको पूर्व नियोजित षड्यन्त्र हो भन्ने लागेको छ। सार्वजनिक लेखा समितिका सदस्यहरु सूर्य पाठक, प्रेम बहादुर आले र पूर्वमन्त्री गोकुल बास्कोटाभको हात छ,’ उनले निवेदनमा भनेका छन्।
७० करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका थिए।