मुख्य बिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लड्न पर्याप्त समय हुँदा पनि सरकारले तयारीमा लापर्बाही गरेको भन्दै संकटको बेला पार्टीका तर्फबाट पूर्ण सहयोग रहने बताएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेसले पीपीई, भेन्टिलेटर, परीक्षण किटलगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह गर्दै कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रूपमा परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएको छ।
सरकारको कमी–कमजोरी औंल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावनाका साथ सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय बैठकले गरेको छ।
कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए। पीपीई, परीक्षण किटलगायत सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्यभन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए।
देश बाहिर रहेर अप्ठ्यारोमा परेका नेपालीलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्धार गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, ज्यालादारी श्रमिकहरूलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरूलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
बैंकबाट २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरूलाई कम्तीमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाखभन्दा माथिको ऋण लिएकाहरू, पर्यटन व्यवसायीहरूको ब्याजदरमा छुट दिनुपर्नेलगायतको व्यवस्था गर्नसमेत कांग्रेसले माग गरेको छ।
कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णयसमेत गरेको छ। बैठकले पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वा्चित भएका र उमेदवार भएकाहरू, पार्टीको जिल्ला कार्य समितिको नेतृत्वदेखि टोलसम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानवीय भावनाका साथ काम गर्न निर्देशन दिएको छ।