राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको भन्दै सरकारले चालेका कदममा साथ दिन सबैलाई अपिल गरेकी छन् ।
देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् । सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।उनले कोरोनाबाट संक्रमित भई उपचाररत विरामीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।
महामारीको यो अवस्थामा अग्रणी मोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन् ।लकडाउन गर्नुपर्ने परिस्थितिले दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको भन्दै उनले प्रभावितहरुका लागि सरकारले राहत प्याकेज घोषणासमेत गरिसकेको उल्लेख गरिन् ।