चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षीया युवतीमा कोरोना संक्रमण देखिएको छ। ती युवतीसँगै शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।
शुक्रबार धनगढीमा अर्का एकजनामा कोरोना संक्रमण देखिएको थियो। उनी पनि दुबईबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए। चैत ६ गते युएईबाट काठमाडौं आएका धादिङका ३२ बर्षीय अर्का युवामा चैत १२ गते कोरोना संक्रमण देखिएको थियो। उनी तेस्रो व्यक्ति हुन्।
चैत ४ मै कतार हुँदै काठमाडौं आएकी १९ बर्षीया अर्की युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनी फ्रान्सबाट दुबई हुँदै कतार एयरवेजमार्फत काठमाडौं आएकी थिइन्। चीनबाट आएका अर्का एक व्यक्तिमा कोरोना संक्रमणको पहिलो पटक पुष्टि भएको थियो।
यी घटनाबाट प्रष्ट हुन्छ, नेपालमा पनि हवाई मार्गबाटै कोरोना संक्रमण भएको हो। हुन बाहिरी मुलुकको अनुभबले पनि यहि भनेको थियो। तर सरकारले त्यसप्रति बेवास्ता गर्दै एक साता अघिसम्म नेपालको बिमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि खुल्ला नै राख्यो। जसको परिणाम दिनप्रतिदिन कोरोना भाइरस संक्रमतिको संख्या बढ्दो छ।
मानिसको शरीरमा कोरोना भाइरस प्रवेश भएको केही समयपछि मात्र लक्षण देखिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेको थियो। तर सरकारले विदेशबाट आउने यात्रुलाई कम्तिमाा १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण नगर्दा कोरोना भाइरस निर्बाध रुपमा बिस्तार भएको छ। एउटै जहाजमा उत्रिएका सयौं यात्रु देशका बिभिन्न भागमा पुगेका छन्। त्यसक्रमा उनीहरुको बसउठ धेरैजनासँग भएको छ। संक्रमण देखिएपछि सरकार भने ती यात्रुको खोजीमा लागेको छ। यात्रुको खोजी भए पनि तिनले भेटेका सबै मानिस खोज्न संभब हुदैन।
पर्यटन मन्त्रालयको नेतृत्व संहालेका योगेश भट्टराईले जनतालाई जबाफ दिनुपर्छ कोरोना भाइरसको संंक्रमण डढेलो जसरी फैलिएका बेला कसका कारण अन्तर्राष्ट्रिय उडानलाई निर्बाध काठमाडौं अबतरण गर्न दिइयो। जबकि बिश्व स्वास्थ्य संगठन र कोरोना भाइरसबाट प्रभाबित मुलुकहरुले सरकारलाई संभाबित दुर्घटना रोक्नका लागि शुरुमै यसबारे ध्यानाकर्षण गराएका थिए। तर पर्यटनमन्त्री भट्टराईले भने चीनका संक्रमण फैलिएका बेला फागुन ७ गते नै नेपाल कोरोना भाइरस फ्रि जोन भनेर अन्तर्राष्ट्रिय जगतलाई हँसाउने काम गरेका थिए।