नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक क्रान्ति हुने बताएका छन्।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवा पलायन रोक्नका लागि पनि प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।
‘देशभरिका २० हजारभन्दा धेरै पशु प्राविधिकहरूले सेवा गरिरहेका छन्, रोजगारी बृद्धि गर्नकै लागि पनि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उदाहरण पशु स्वास्थ्य सेवा प्राविधिक संघ हो,’ उनले भने।
राजनीतिक विषयमा केही नबोलेका सभापति देउवाले राज्यले नै प्राविधिक शिक्षाको व्यवस्था गरेर युवालाई पढ्न प्रेरित गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए।
शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने बेलामा सरकार भ्रष्टीकरणमा लागेको टिप्पणी पौडेलले गरे। संविधान संशोधन गरेर रमिता देखाउन खोजिएको बताउँदै पौडेलले मुलुकमा प्रतिगमनको खतरा बढेको बताए। लोकतान्त्रिक गणतन्त्र र संघीयता खतरामा पार्ने काममा ओली सरकार लागेको दावी गर्दै पाडेलले अब नेपाली कांग्रेसले प्रतिगमन रोक्न आवश्यक कदम चाल्ने उद्घोष गरे। वरिष्ठ नेता पौडेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको सेटिङ प्रकरणमा प्रधानमन्त्री केपी ओलीकै संलग्नता हुन सक्ने आशंका गरे।
कृषि क्रान्ति कांग्रेसकै पालामा सुरू भएको उल्लेख गर्दै पौडेलले भने, ‘विपी कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारले कृषिमा ३० प्रतिशत बजेट छुट्याएको थियो। अहिले डेढ प्रतिशत मात्रै छ। कांग्रेसले नै आधुनिक कृषि क्रान्तिका लागि योगदान गरेको हो।’
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सत्तामा पुगेपछि कृषिको विकासमा दीर्घकालीन महत्त्वका कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउने बताए। ‘पशु स्वास्थ्य सेवा प्राविधिक संघले गरिरहेको काम ज्यादै महत्त्वपूर्ण छ, अहिलेको सरकारबाट सहयोग नपाए पनि कांग्रेसका सरकार बनेपछि सहयोग हुन्छ,’ कोइरालाले भने।
संघका केन्द्रीय सल्लाहकार हिमालय पोखरेलका अनुसार नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको २७औँ संगठन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघमा मुलुकभरि २० हजारभन्दा धेरै प्राविधिक संलग्न छन्।
संघका अध्यक्ष जनकबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी विष्णु कार्की, हिराबहादुर खत्री र राजन प्रसाईंलाई सम्मान गरिएको छ।