नेपाली कांग्रेसका नेताहरुले नेताहरुले सरकारको कार्यशैली र भ्रष्ट प्रवृत्तिविरुद्ध शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्नुपर्ने बताएका छन्।
महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अबसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको उद्घोष गरे। लामो संघर्षपछि प्राप्त प्रजातन्त्र कम्युनिष्ट सरकारका गतिबिधिका कारण संकटमा परेको भन्दै प्रजातन्त्रको रक्षाका लागि आन्दोलनको आबश्यकतामा जोड दिएका हुन्। उनले कांग्रेसले गर्ने आन्दोलन शान्तिपूर्ण हुने भन्दै हिंसामुक्त समाजका लागि निधिको दर्शन अनुकरणीय भएको बताए।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेकपाले कम्युनिस्ट स्टेट बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध लड्नुपर्ने बताए। उनले भने, “लड्नका लागि कम्युनिस्टले दुई लट्ठी हाने हामी चार लठ्ठी हान्छौं भन्ने होइन, अहिंसाको बाटो अबलम्बन गर्नुपर्छ।“ जनवादी केन्द्रियतालाई मार्गनिर्देशक सिद्धान्त मान्ने कम्युनिस्टले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिइरहेको निधिले बताए।
सरकारले भ्रष्टाचारलाई मलजल गरेको तथा उसले ल्याएका विवादस्पद विधेयक हेर्दा सरकार अधिनायवादतर्फ उन्मुख भएको उनको भनाई थियो। १४ औं महाधिवेशनलाई वैचारिक आधारमा एकताका साथ सम्पन्न गर्नुपर्नेमा उपसभापति निधिले जोड दिए।
अर्का नेता प्रकाशमान सिंहले कम्यनिस्ट दबदबाबिरुद्ध आन्दोलनमा जानुको बिकल्प नभएको बताए। उनले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला महेन्द्रनारायण निधिले शुरु गर्नु भएको अहिंसाको बाटो बढेमा निधिप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे।
कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले सरकारविरुद्ध अहिंसा र शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताए। उनले शान्तिपूर्ण माध्यमबाट कम्युनिष्ट अधिनायकबाद बिरुद्ध लड्नका लागि सडकमा आउन ढिलाई गर्न नहुनेमा जोड दिए। उनले अराजक क्रियाकलापका कारण ओली सरकारको दिनगन्ती शुरु भएको बताए।
नेता प्रदीप गिरीले आन्दोलनको बिकल्प नभएको बताए। उनले ५ लाख जनता सडकमा उतारेर अहिंसात्मक आन्दोलनबाट अधिनायकबाद उन्मुख सरकारलाई निकाल्नुपर्ने बताए। २१ औं शताब्दीमा पैसा र बलको राजनीति होइन, नैतिकताको राजनीतिको जित हुने उल्लेख गरे। ओली सरकारले भ्रष्टाचार र दुराचारलाई प्रश्रय दिएको भन्दै गिरिले यस्तो राजनीति टिकाउ नहुने दाबी गरे।