नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा निरीह भएर बस्नभन्दा नेकपामा आउन समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई आग्रह गरेका छन्।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले आफ्ना पूर्व सहकर्मी भट्टराईलाई उक्त आग्रह गरेका हुन्। तत्कालीन माओवादीमा प्रचण्डपछिका दोस्रो वरियतामा रहेका भट्टराईले ४ वर्षअघि पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए। सोही पार्टीलाई उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलिन गराएका हुन्।
समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूहरुसँगै मिल्न आउन प्रचण्डले आग्रह गरे।
उनले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग अलग चुलोचौका लगाएर नहुने समेत बताए।