पार्टीभित्र उत्पन्न विवाद समाधान गरी अघि बढ्ने बिषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेलसहित कार्यदलका सदस्यहरुसँग बुधबार छलफल गरेका छन्।
देउवा निवास बुढानिलकण्ठमा करिब ३ घण्टासम्म भएको छलफलमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता बितरण, निलम्बन गरिएका धारा तथ नेविसंघ र तरुण दलका बिषयमा छलफल भएको थियो।
पाटीभित्र उत्पन्न विवाद समाधानका लागि आन्तरिक गृहकार्य अघि बढाएका उपसभापति विमलेन्द्र निधि तथा पूर्ब महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको अनौपचारिक छलफलपछि देउवाले बैठक बोलाएका हुन्। बैठकमा सभापति देउवा, बरिष्ठ नेता पौडेल, उपसभापति निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्बमहामन्त्रीद्धय सिंह र सिटौला सहभागी थिए।
कार्यदलका तर्फबाट उपसभापति निधिले आन्तरिक समस्या हल गर्नका लागि भएका प्रयासबारे बैठकमा जानकारी गराएका थिए। बैठकपछि उपसभापति निधिले विवाद समाधानको विषयमा आजको छलफल सकारात्मक रहेको जानकारी दिए। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अर्को बैठक शुक्रबार बिहान ९ बजे फेरि बस्ने छ।
यसअघि गत पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो। वरिष्ठ नेता पौडेल उपचारका लागि भारतको नयाँदिल्ली जानुपूर्व भएको उक्त छलफलमा दुबै पक्षले गठन गरेका कार्यदलले अनौपचारिक छलफल गरी समस्या समाधानका लागि पहल गर्नेबारे सहमति जुटेको थियो ।
यसबीचमा उपसभापति विमलेन्द्र निधि, पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्य प्रकाशमान सिंह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाबीच सानेपामा दुई पटक छलफल भइसकेको छ। पछिल्लो समय गत आइतबार भएको अनौपचारिक छलफलमा नेताहरुबीच तत्काल सहमति निर्माण गरी अघि बढ्ने सहमति भएको थियो।