प्रदेश ५ प्रदेशसभाका मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा निधन भएको हो।
नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए।
पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो। लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई केही दिनअघिमात्र घर लगिएको थियो।
१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका थिए। २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए। २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत भएका थिए।पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।