गत पुस ३ गते हिउँदे अधिबेशन शुरु भएपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै छ। सत्तारुढ दल नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने बिषयमा बिबाद भएपछि प्रतिनिधिसभाको बैठक पटक पटक सूचना टाँसेर स्थगित गरिएको थियो।
नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच पूर्ब माओवादीका अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने आइतबारको निर्णयलाई स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो।
बैठक दिउँसो १ बजेका लागि तय भएको छ। सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ।
प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले सापकोटा सभामुखमा विजयी हुने पक्का छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने संबैधानिक व्यबस्था अनुसार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ।
नेकपाका एक नेताका अनुसार, शिवमायाले आजै पदबाट राजीनामा दिनेछिन्। उनको राजीनामापछि संसद सचिवालयले सभामुख र उपसभामुखको निर्बाचन प्रकृया अघि बढाउने छ।