प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्दैछन्। दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर उनले आजै चार राज्यमन्त्री थप गर्न लागेका हुन्।
मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्दैछन्। चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार मुख्यमन्त्री राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिँदैछन्।
एक नम्बर प्रदेशमा रहेका सातवटा मन्त्रालयमध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राईले नै राख्दै आएका छन्। पूर्वाधार मन्त्रालयमा नियुक्त गर्न लागेका गुरुङ लामो समय अमेरिका बसेका थिए। उनी गत चुनाबमा ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्बाचित भएका थिए।
पार्टी प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न शनिबार निर्देशन दिए पनि मुख्यमन्त्री राईले मन्त्री खाली राखेर राज्यमन्त्रीमात्र नियुक्त गर्न लागेका हुन्। मन्त्रालय भागबण्डामा पूर्ब माओवादी र पूर्ब एमालेबीच बिबाद रहदै आएको छ।