ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भएको बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको समूहले लिएको छ।
प्रहरीका अनुसार बुधबार साँझ स्वयम्भु सानोभर्याङस्थित नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको घरमा भएको विष्फोटबाट मानिवीय क्षति नभए पनि घरमा झ्यालका सीसा फुटेका छन्।
विष्फोट भएको स्थानमा ‘विप्लव’ नेतृत्वको नेकपाले पर्चा छरेका छन्। पर्चामा ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ।
विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा आफूहरूले कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रियकरण भैसकेको सो जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीले बताएको छ।
भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परी राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही सिर्जना गरी उक्त जग्गा व्यक्तिको नाममा गरिएको बिप्लवको पर्चामा उल्लेख छ।
प्रर्चामा जनाइए अनुसार कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको छ। ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडिया ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा आफूले कब्जा गरेको घोषणा गरेको छ।
कब्जा गरिएको सो जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारवाही गर्ने चेतावनी पनि बिप्वल समूहले दिएको छ।