प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन् ।
घटनाप्रति चासो नदेखाएको भन्दै आलोचना भएपछि आइतबार बिहानै घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सबै उपचार खर्च प्रदेश सरकारले व्यवहोर्ने र मृतकका आफन्तजनलाई राहत उपलब्ध गराउने घोषणा गरे ।
मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे अगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने उनले बताए । विस्फोटमा परि प्रहरी निरीक्षक अमिरकुमार दाहाल, औषधि व्यवसायी राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो । थप दुई प्रहरीसहित साहका एक छोरा र एक छोरी पनि घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।