प्रतिनिधि सभाको सभामुखमा पूर्वसभामुख सुुवास नेम्बाङ र राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मालाई ल्याउने लगभग पक्का भएको छ।
नेम्बाङलाई सभामुख र शर्मालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको नेकपा स्रोतले जनाएको छ।
यद्यपि ऊर्जामन्त्री वर्षमान पुनको जोडबाल आफ्नी पत्नी ओनसरी घर्तीलाई सभामुख बनाउने थियो। हुन पनि कृष्णबहादुर महराको निलम्बनपछि सभामुखमा घर्तीको पल्ला भारी भइसकेको थियो। किनकि तत्कालीन सभामुख महरालाई सिध्याउन पुनले नै तानाबाना बुनेको पूर्वमाओवादीमा अहिले पनि चर्चा हुने गरेको छ। जसमा प्रधानमन्त्री ओलीसहित नेम्बाङ र महान्यायाधीवक्ता अग्नि खरेलले सहयोगीको भूमिका खेलेका थिए। नेकपाका कतिपय नेताहरु महराको राजनीतिक भविष्य सिध्याउन कांग्रेसका गगन थापाले समेत प्रधानमन्त्री ओली र पुनलाई सहयोग गरेको दाबी गर्छन्।
प्रधानमन्त्री ओलीले पनि घर्तीलाई नै सभामुख बनाउन चाहेका थिए। तर माओवादीभित्रको एउटा समूहले घर्तीलाई कुनै पनि हालतमा बनाउन नहुने दबाब दिएपछि उनका पति पुन पछाडि हटेका हुन्। कतिसम्म भने घर्तीलाई सभामुख बनाउनु हुँदैन भनेर पुनकै गृहजिल्ला रोल्पाका पूर्वमाओवादीहरुले समेत प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग भेटेर कुरा गरेका थिए। तर पनि महराको राजनीतिक भविष्य सिध्याउन पुनले गरेको सहयोगको गुन तिर्नुपर्ने ओलीको बाध्यता थियो। त्यसैको उपहारस्वरुप भक्तपुरको प्रदेश सभा चुनावमा नेकपाका स्थानीय नेताको विरोधका बीच प्रधानमन्त्री ओलीले डीपी ढकाललाई उम्मेद्वार बनाएको चर्चा संसद सचिवालय परिसरमा बेलाबेलामा हुने गरेको छ। २०७४ को चुनावमा नेकपाबाट बागी उम्मेद्वार बनेका ढकालले ७ सय मत ल्याएका थिए। ढकाल तिनै व्यक्ति हुन् जसले पुनको स्वकीय सचिव भएर काम गरेका थिए।
पूूर्वमाओवादीबाट घर्तीका पक्षमा माहोल नबनेपछि यतिबेला पुन पनि आफ्नी पत्नीले नपाउने भएपछि बरु नेम्बाङलाई नै सभामुख बनाउनुपर्ने पक्षमा भएको निकटजनहरुले बताउने गरेका छन्। हुन त सभामुखमा पूूर्वमाओवादीबाटै अग्नि सापकोटा र देव गुरुङको नाम पनि चर्चामा रहेको छ। सापकोटका लागि अर्जुन लामाको मुद्दा बाधक भएको छ भने गुरुङ गृहमन्त्री रामबहादुर थापा समूहका हुन्। त्यसकारण पनि प्रचण्ड गुरुङलाई सभामुखको जिम्मेवारी दिन चाहँदैनन्।
बलीको बोको-गणेशप्रसाद र शिवमाया
पूर्वमाओवादीका तर्फबाट सभामुख बनेका कृष्णबहादुर महरा संसद सचिवालयकी कर्मचारीमाथि यौन दुुर्व्यवहार गरेको आरोपमा निलम्बनसहित जेल परेसँगै पूर्वएमालेको पोल्टामा जाने भएपछि कार्यकारीको अधिकारसहित अध्यक्ष भएका प्रचण्डलाई ‘फेस सेभिङ’ को निकै अप्ठ्यारो परेको थियो। त्यसैले सभामुख नपाए पनि राष्ट्रिय सभा अध्यक्ष पूर्वमाओवादीले पाउनुपर्ने भन्दै उनले नयाँ बाटोको खोजी गरेका हुन्। त्यसका लागि उनले नेता दीनानाथ शर्माको नाम अघि सारेका छन्। शर्माका विषयमा नेकपाभित्र खासै विवाद पनि छैन।
ऐन कानुन पारित गराउने तथा विपक्षीहरुसँग समन्वय गरी अघि बढ्नमा सभामुखको भूमिका महत्त्वपूर्ण हुने भएकाले राष्ट्रिय सभा अध्यक्ष छाडेर भए पनि पूर्वएमालेले प्रतिनिधिसभामा आँखा लगाएको हो। यसका लागि उसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनालाई हटाउने तयारी गरेको छ।
उता, प्रतिनिधि सभाको सभामुख सत्तासीन नेकपाले लिएपछि उपसभामुख अर्कै दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। यद्यपि यो संवैधानिक व्यवस्थाको हिजोका दिनमा भने सत्तासीन नेकपाले उल्लंघन गरेको थियो। नेकपाले सभामुख र उपसभामुख पूर्वमाओवादी र पूूर्वएमालेमा भागबण्डा गरेको थियो। मुख्य विपक्षी दल कांग्रेसले भने सुरुदेखि नै यसको विरोध गरेका थियो। आज आएर सभामुख र उपसभामुखमध्ये एक पद अर्को दललाई दिनुपर्नेमा नेकपा सहमत भएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेको पद गुम्ने लगभग निश्चित छ।