नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने जाने छैनन्।
प्रधानमन्त्री ओली स्वास्थ्यका कारण सचिवालय बैठकमा उपस्थित हुन नसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीको बैठकमा उपस्थित नभए पनि प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्।
सचिवालय बैठकको तयारीकै लागि दाहाल निवास खुमलटारमा आइतबार बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेललगायत नेताहरूको बैठक बसेको थियो।
आजको बैठकमा यहि मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको मतपरिणामबारे समीक्षा हुने बताइएको छ। उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेशसभा सदस्यमात्र होइन, आफ्नो किल्ला मानेको धरान उपमहानगरको मेयर गुमाएको थियो।