नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी जिम्मेवारी पाएसँगै आफ्नो सक्रियता ह्वात्तै बढाएका छन्।
यसै सिलसिलामा दाहालले आइतबार आफ्नै निवास खुमलटारमा पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। छलफलमा सचिवालय बैठकका एजेन्डाबारे कुराकानी भएको बताइन्छ। छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल सहभागी थिए।
स्रोतका अनुसार छलफलमा नेकपाका विभिन्न विभागमा सदस्य नियुक्तिलगायतका विषयले प्रवेश पाएको थियो।
मंसिर ५ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै प्रचण्डले पार्टीमा सक्रियता बढाएका छन्। आफ्नो काम देखाउने तयारीसँगै पूरै पार्टीलाई आफ्नो मुठ्ठीमा पार्न खोजेको पूर्वएमाले इतरका नेताहरु बताउँछन्।
भोलि (सोमबार) पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकका विषयमा छलफल गर्नुअघि प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँग परामर्शसमेत गरेका थिए।
यसअघि बसेको बैठकले ओलीको स्वास्थ्यलाभको कामना गर्दै उप-चुनावको समीक्षा गर्ने निर्णय गरेको थियो। पार्टी एकीकरणको प्रक्रिया अन्तिमतिर पुगे पनि स्थायी समिति र केन्द्रीय समिति बैठक भने २-२ पटकभन्दा बढी बोलाइएको छैन।
हालै गठन गरिएका ३५ विभागका संयोजक, सहसंयोजक, इन्चार्ज र सहइन्चार्ज बनाउने निर्णय भए पनि नेकपाले त्यसलाई पूर्णता दिन सकेको छैन। तर तत्कालीन एमालेका २० र माओवादी केन्द्रका १५ जनालाई प्रतिनिधित्व गराउने सहमति भइसकेको बताइएका छ। जसअनुसार नाम प्रस्ताव गर्न भोलिको सचिवालय बैठकले सम्बन्धित कमिटीलाई आग्रह गर्न सक्ने बताइएका छ।