भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस्।’ उनले बदनाम कमाएक मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइन्।
‘तपाईंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन। गल्ती नगरेकालाई अख्तियारले लगेको छैन,’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन्। हो कि होइन म जान्दिनँ। यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन। परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो।’
इमान्दार कर्मचारीको संरक्षण गरिने भन्दै उनले कसैसँग नडराइ काम गर्न पनि आग्रह गरिन्। सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस् भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताइन्। ‘हामीमाथि औंला ठडिएको छन। ‘औंला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भनिन्।
कार्यक्रममा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पनि सुधारका प्रयासबारे जानकारी गराएका थिए।