नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको आर्थिक अनियमितता तथा पूर्बाग्रहपूर्ण निर्णय तत्काल सच्याउन आग्रह गर्दै नसच्चिएमा त्यसबिरुद्ध कांग्रेस सशक्त ढंगबाट अघि बढ्ने चेतावनी दिएका छन्।
नोपली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिद्धारा शुक्रबार आयोजित कागेश्वरी मनोहरा नगरपालिकामा भएका अनियमितता, बेथति, राजनीतिक पूूर्बाग्रह प्रेरित निर्णय, विकास निर्माणमा भएका ढिलासुस्ती लगायत नगर प्रमुखको मनोमानी बिरुद्ध आयोजित बिरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले स्थानीय तहका जनप्रतिनिधिको मनोमानीलाई तत्काल नरोकेमा स्थानीय निकाय भ्रष्टाचारको अखडा बन्नेतर्फ ध्यानाकर्षण गराए।
कम्युनिष्टले जितेका स्थानीय तहमा भ्रष्टाचारको बिगबिगी भएको भन्दै उनले त्यसका बिरुद्ध जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले अभियान चाल्ने चेतावनी दिए।
बिरोध सभामा कांग्रेस सांसद भीमसेनदास प्रधान, काठमाडौं कांग्रेस सभापति सबुज बाँनिया, क्षेत्रीय सभापति उपेन्द्र कार्की लगायतका नेताहरुले कम्युनिष्ट अराजकताबिरुद्ध एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गरे।
यसैबीच, सो नगरपालिकाका प्रमुखको मनोमानी विरुद्द कांग्रेसले संघर्षका कार्यक्रम अघि सारेको छ। शिक्षा क्षेत्रमा भएको राजनीतिकरणको अन्त्य र नगर शिक्षा ऐनको खारेजी गर्नुपर्ने,वालुवा ठेक्कामा भएको करिव ३ करोडको अनियमितताको छानवीन र दोषीलाई कारवाही गर्नुपर्ने, स्मार्ट सिटिको नाममा रोक्का गरिएको जग्गा फुकुवा गरिनु पर्ने, कित्ताकाट शिफारिसका लागी लिईरहेको प्रति आना रु. १०,००० को खारेजी गरिनुपर्ने,गैरकानूनी र अव्यवस्थित रुपमा भएको जग्गा प्लटिङ र यसमा भएको अनियमितताको छानवीन गरिनुपर्ने, वडा नं. ४ को जग्गा मदन भण्डारी फाउण्डेशनको नाममा विना कार्ययोजना वालुवा माटो जस्ता श्रोत दुरुपयोग गर्नकोलागि दिने प्रकृयाको खारेजी गरिनुपर्ने लगायतका २७ बुँदे संघर्षका कार्यक्रम अघि सारेको छ।