सन् १९७५ जुन २६ का दिन भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल करिब २१ महिना अर्थात् जनवरी १९७७ सम्म चल्यो। संकटकाल लागू हुनासाथ राजा महेन्द्रले तत्कालीन सहायकमन्त्री लमजुङका खगेन्द्रजंग गुरुङ (जो २३ वर्षको कलिलो उमेरमै मन्त्री बनेका थिए) मार्फत् आफ्नो सन्देश भारत सरकारमार्फत् पठाए। दिल्लीमा राजाको सन्देश बोकर गएका मन्त्री गुरुङलाई प्रवासमा रहेका विपी कोइरालालाई समेत भेटेर उनको र पार्टीको भित्री कुरा बुझेर मात्र भेटवार्ता गरी स्वेदश फर्किन हुकुम थियो।
राजा महेन्द्रको हुकुमबमोजिम मन्त्री गुरुङले विपीसँग भेटवार्ता गर्दै थिए। त्यति नै बेला पश्चिम नेपालमा भए गरेका नेपाली कांग्रेसको गतिविधि सहितको प्रतिवेदन पनि पेस गर्न पुगेका थिए कास्की पुम्दीभुम्दीको लुखुरे बाहुन केटो। उनी पुग्दा विपीले तत्कालीन मन्त्री खगेन्द्रजंग गुरुङसँग भन्दै थिए, ‘राजाको निरंकुशताले धेरै जनजातिको हत्या भएको छ । राजाको सन्देशको कुरा छाड्नुस्। बरु तपाईं हामीले सुरुआत गरेको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्नुस् ।’ विपीका मुखबाट यति कुरा खस्न नपाउँदै गुरुङले थपिहाले, ‘तपाईं गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गरेर आन्दोलन चलाउनुस्। हामी राजालाई छाडेर संयुक्तरुपमा अघि बढ्छौं ।’
प्रवासमा रहेका आफ्ना नेता विपी र तत्कालीन मन्त्री गुरुङबीचको यति संवाद सुनी बसेका तिनै लुखुरे बाहुन अर्थात् खेमराज पौडेलले विपीका सामु आफ्ना विचार राख्नै सकेनन्। विपीले राजाको सन्देश सुनाउने मन्त्री खगेन्द्रजंगको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘जातीय आधारमा हैन, प्रजातान्त्रिक आन्दोलनभित्रैबाट देश र जनताले मुक्ति पाउँछन् ।’ प्रजातन्त्रको मूल्य, मान्यता र निष्ठाबाट प्रशिक्षित त्यही बाहुन केटो, जो आज ७४ वर्षको उमेरपर्यन्त विपी विचार, सिद्दान्त र मान्यतालाई आत्मसात गर्दै राजनीतिमा प्रतिबद्ध छ । त्यही लुखुरे बाहुन अर्थात् खेमराज गुरु मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा हुने चुनावमा होमिएका छन्। कास्कीमात्र होइन नेपालमा भएका हरेक खालका आन्दोलनमा अग्रमोर्चामा देखिने खेमराज कहिल्यै पनि पदलोलुप देखिएनन्। बरु पार्टी सच्चिनुपर्छ, अनि पार्टीमा लागेका नेताहरु सच्चिनुपर्छ भनेर अनवरत रुपमा लागी परे।
राजनीतिमा निष्ठा आवश्यक पर्छ भन्ने विचार उनले प्रवाह गरिरहे। ६० वर्षभन्दा बढी समय उनी राजनीतिमा समर्पित रहे। उमेरले ६ बीस १४ पार गरेका पौडेलमाथि लगाउन मिल्ने कुनै आरोप नै भेटिँदैन। पार्टीभित्र होस् या बाहिर जहिले पनि उनी निर्विवाद रहे । अनि समन्वयकारी भूमिका निर्वाह गरे।
उमेरले पाका उम्मेदवार पौडेल अहिले उत्साहका साथ चुनावमा होमिएका छन्। अनि कास्की २ का मतदाताको घरदैलोमा पुगेर रुखमा मत मागिरहेका छन् । देश अहिले भ्रष्टाचारको दलदलमा फँसिरहेको अवस्थामा निष्ठावान एक कार्यकर्ताले चुनावमा अघि सर्नु नै सकारात्मक सन्देश हो। यही सन्देशले नै मतदाता उत्साही देखिएका छन्।
टिकट वितरण गर्नु अघि खेमराज गुरुको नाम चर्चामा थियो । अरु पार्टीले उम्मेदवार टुंग्याउँदासम्म पनि कांग्रेस अलमलमा रहेका कारण एक खालको निराशा कार्यकर्तामा थियो। तर कार्यकर्ताको यो निराशाको कोण आशातिर ढल्कियो। जसै खेमराजको हातमा टिकट हात लाग्यो, केन्द्रदेखि स्थानीय तहसम्मबाट एकताको सन्देश प्रवाह भयो। मनोनयनकै दिनमा पोखरा आएका पार्टी उपसभापति विमलेन्द्र निधिले खेमराज गुरुले टिकट पाएसँगै दलभित्रको अन्तद्र्वन्द्व धेरै हदसम्म सल्टेको उद्घोष गरे।
अनि कास्कीका मतदाताले जिताएर पार्टीभित्रको एकताको सन्देश दिन आग्रह गरे। त्यतिमात्र होइन कम्युनिस्टको दुई तिहाइ सरकारको कामको मूल्यांकनका लागि पनि यो महत्वपूर्ण अवसर हो। यो अवसरलाई कास्की २ का मतदाताले पक्कै सदुपयोग गर्नेछन्। ऐतिहासिक पुरुष जो निष्ठा, इमान्दारिता र सादगीका प्रतिमूर्तिका रुपमा सतिसालझैं अडिग र निर्भिक भएर नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा देश र जनताका निम्ति लडे, त्यस्ता व्यक्तिलाई उम्मेदवारको रुपमा पाउनु मतदाताका लागि अहोभाग्य हो।
विपी, गणेशमान, किसनुजी, सुवर्णशमसेर लगायतका नेताहरुको संसर्गमा रहेर नेपालमा बहुदलीय प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान गरेका खेमराज कहिल्यै पद र लाभको लिप्सामा लागेनन्। २०४६ सालको परिवर्तनपछि भूमिसुधार बनेकी शैलजा आचार्यले देशभरि सुकुम्बासी र भूमिहीन जनतालाई लालपूर्जा वितरण गर्न सुकुम्बासी आयोग गठन गरेकी थिइन्।
कास्कीमा तिनै खेमराज पौडेल आयोगको अध्यक्ष बने । कास्कीका तत्कालीन सुकुम्बासी बस्तीमा आफ्ना सहकर्मी साथीसहित नापजाँच टोली लिएर फटाफट कार्य सम्पन्न गरी तत्कालीन भूमिसुधार मन्त्री शैलजा आचार्यको हातबाट पोखरा उद्योग वाणिज्य संघको हलमा सेतो पूर्जा वितरण गराए । कार्यक्रम सकिँदा झमक्कै साँझ परेको थियो । त्यही बेला पोखरा उपमहानगरका तत्कालीन वडाध्यक्षले बोराका बोरा पैसा ल्याएर खेमराजलाई दिए। जुन पैसा सुकुम्बासीलाई पुर्जावापत दिएवापत भनेर उठाएका रहेछन्। तर खेमराजले उक्त रकम को, कसबाट, के–कति उठाइएको हो? सो विवरणसमेत दिन भने।
त्यसपछि प्रत्येक सुकुम्बासीसँग उठाइएको रकम र नामावलीसमेत खेमराज पौडेललाई हस्तारण गरियो। त्यति नै बेला खेमराजले सम्बन्धित व्यक्तिलाई नै उक्त रकम फिर्ता गरिदिए। यसबाट पनि प्रस्ट हुन्छ कि उनी पद मात्र होइन धनका लागि पनि लालची होइनन् भनेर ।
अति सामान्य जीवनयापन गरिरहेका खेमराज गुरु पुम्दीभुम्दीकै पुख्र्यौली घरबाट पोखरा आवतजावत गर्छन्। अर्थात् पोखराको मुख्य बजारमा उनको घर छैन। उनीसँग साँझबिहान गोठमा गाईवस्तु स्याहारेको अनुभव छ। पुम्दीको माटोमा उनले धेरै पसिना बगाएका छन् । उतिबेलै बनारस पुगेर राजनीतिक संगतमा लागेका उनले त्यहाँ राजनीतिक चेतसहितको शिक्षा आर्जन गरेर स्वदेश फर्के। शिक्षण पेसामा होमिए। त्यसैले उनी अहिले सबैका ‘गुरु’ बनेका छन्।
शेरबहादुरको नेतृत्वमा पार्टी फुटेपछि उनी जिल्ला सभापति भए । त्यसअघि पनि तारानाथ रानाभाट सभापति हुँदा उनी उपसभापति थिए। पञ्चायतपछि २०३६ सालमा कास्की जिल्ला कमिटी गठन भयो । जिल्ला कमिटीको अध्यक्ष धीरबहादुर गुरुङ हुँदा पौडेल सदस्य भनेर जिल्लाको राजनीतिमा लागेका थिए । निरन्तर राजनीतिमा लागे तर कांग्रेस केन्द्रीय कमिटीको आमन्त्रित सदस्यभन्दा माथि पुगेनन्।
तर, निरन्तर जिल्लाको राजनीतिको केन्द्रमै रहन्छन्, पौडेल । उनी निवृत्त शिक्षक हुन्। बनारसबाट संस्कृत र साहित्यमा डिग्री गरेर फर्किएका पौडेलले शिक्षणसँगै राजनीति गरे । २० वर्ष शिक्षण पेसा गरेर फेरि राजनीतिमै पूर्णकालीन बनेका पौडेलले कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सहभागी बने । पौडेल पञ्चायतदेखि हरेक आन्दोलनमा सहभागीमात्रै बनेनन्, जेलनेल पनि खाए । पहिलेका चुनावमा चारतिर फर्कने नेताहरु खेमराज गुरुले टिकट पाएसँगै एकढिक्का देखिएका छन्। यो चुनावमा गुरुको विजय निश्चिताको नजिक पुगिसकेको छ।