भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरेको विरोधमा सरकारले हस्तक्षेप बढाउँदै गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कालापानी, लिपुलेक भारतीय नक्सामा गाभिएपछि हुँदै आएका विरोध प्रदर्शनमा धरपकड गर्दै आएको प्रहरीले आइतबार फेरि भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि हस्तक्षेप गरेपछि कांग्रेसले आपत्ति जनाएको हो ।
अमृत साइन्स कलेज (अस्कल) बाट आइतबार बिहान भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनका लागि निस्कन लागेका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले रोकेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग जवाफ माग गरेका हुन् ।
'कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो,' उनले ट्विटरमार्फत जवाफ माग्दै भनेका छन्, 'राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहरारँदै, कालो बेलुन उडाउँदै सडकमा निक्लँदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न !'
प्रहरीले विद्यार्थीलाई क्याम्पसको गेटमा अवरोध गरे पनि उनीहरुले लैनचौरस्थित भारतीय दूतावासअघि पुगेर भूमि अतिक्रमणको विरोध गरेका थिए । कालो ब्यानर र कालो बेलुनसहित भारतविरुद्ध नाराबाजीसहित दूतावास अगाडि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेका हो ।